पाँच दिनमा रोल्पामा पहिरोबाट १८ जनाको मृत्यु, एक बेपत्ता

१ हप्ता अगाडि
पाँच दिनमा रोल्पामा पहिरोबाट १८ जनाको मृत्यु, एक बेपत्ता

रूपन्देही । लगातारको वर्षासँगै आएको पहिरोका कारण रोल्पामा पाँच दिनमा १८ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गएराति लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको हो।

पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिएका छन्।

यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १३ जनाको मृत्यु भएको थियो। घटनामा अझै एक जना बेपत्ता छन् भने दुई जनाको बुटवलमा उपचार भइरहेको छ।

त्यस्तै, बिहीबार सुनछहरी गाउँपालिका-२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको थियो।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोले जनजीवन प्रभावित भएको प्रहरीले जनाएको छ।