झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै गएको छ।
पछिल्लो पटक मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिसका संक्रमितको संख्या १० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।
संक्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्।
स्वास्थ्य कार्यालयका अनुसार मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा संक्रमण पुष्टि भएको छ।
१० संक्रमितमध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
संक्रमितमध्ये सात महिनाका एक बालकसमेत रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए।
लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन श्रेष्ठले सर्वसाधारणलाई आग्रह गरेका छन्।