कांग्रेस संस्थापनइतर समूहको भेलाबाट पाँचवटा प्रतिवेदन पारित

१ हप्ता अगाडि
कांग्रेस संस्थापनइतर समूहको भेलाबाट पाँचवटा प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलाबाट पाँचवटा प्रतिवेदन पारित भएका छन्।

काठमाडौंको सुकेधारामा जारी भेलाको बन्दसत्रमा विभिन्न समूहमा छलफल गरेपछि पाँचवटै प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो।

भेलामा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, नेता एनपी साउदले समसामयिक नीति तथा विषयसम्बन्धी प्रस्ताव पेस गरेका थिए।

यस्तै, डा. प्रकाशशरण महतले नेपालको आर्थिक नीतिसम्बन्धी तथा रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

शनिबार प्रस्तुत प्रस्तावमाथि प्रतिनिधिहरूलाई विभिन्न समूहमा विभाजन गरी छलफल गराइएको थियो। समूहका टोली नेताहरूले प्रस्तावमा गर्नुपर्ने परिमार्जनबारे धारणा राखेका थिए।

प्रतिनिधिबाट प्राप्त सुझावबारे सम्बन्धित प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि आवश्यक परिमार्जनसहित प्रस्ताव पारित गरिएको कांग्रेस नेताहरूले बताएका छन्।