मौसम पूर्वानुमान

देशका केही स्थानमा वर्षाको सम्भावना, लुम्बिनीमा भारी वर्षाको चेतावनी

१ हप्ता अगाडि
देशका केही स्थानमा वर्षाको सम्भावना, लुम्बिनीमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा दिउँसो धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ। यस्तै, कोशी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा मधेस, कोशी र वाग्मती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्यतया बदली रहने विभागको पूर्वानुमान छ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपासमा रहे पनि पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर, नेपालनजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।