आज नागपञ्चमी : नागको पूजा गरी मनाइँदै

१ हप्ता अगाडि
आज नागपञ्चमी : नागको पूजा गरी मनाइँदै

काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा-आराधना गरी देशभर मनाइँदैछ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष अधिकमासका कारण सौरमासअनुसार भदौको पहिलो दिन परेको हो।

नागपञ्चमीका अवसरमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर पूजा गर्ने चलन छ। धार्मिक विश्वासअनुसार नागको तस्वीर घरमा टाँस्दा वर्षभर नाग, सर्प तथा बिच्छीलगायत जीवबाट हुने दुःखबाट बच्नुका साथै आगलागी, मेघ र चट्याङको भयसमेत नहुने मान्यता छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार नागपूजाको प्रचलन वैदिककालदेखि नै रहँदै आएको मानिन्छ। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाएमा पानीको अभाव हुने विश्वासका कारण वर्षा तथा जलसम्बन्धी कामनासहित नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको बताइन्छ।

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागराजसँग ब्रह्माको संवाद भएकाले पनि यो दिन नागपूजाका लागि विशेष मानिएको हो।

हिन्दू धार्मिक परम्परामा प्रत्येक घरमा नागको वास हुने विश्वाससमेत पाइन्छ। घरको जगमुनि रहेका नाग रिसाएर गएमा घरको जग नै भत्किन सक्ने धार्मिक मान्यताका कारण नागको पूजा गर्ने परम्परा चलिआएको बताइन्छ।

नागलाई भगवान् विष्णु र शिवसँग समेत जोडेर हेर्ने गरिन्छ। भगवान् शिवले नागलाई आफ्नो गलामा धारण गर्ने तथा भगवान् विष्णु शेषनागको शय्यामा जलमाथि शयन गर्ने धार्मिक मान्यताका कारण नागलाई दुवै देवतासँग सम्बन्धित पवित्र प्रतीकका रूपमा पूजा गर्ने परम्परा रहेको छ।

नागपञ्चमीका दिन विशेषगरी नागको तस्वीरमा दूध, अक्षता, फूल, दुबो तथा विभिन्न पूजा सामग्री चढाएर पूजा गर्ने तथा घरको मूलढोकामा नागको तस्वीर टाँस्ने चलन छ।