एमालेले समर्थन फिर्ता लिएपछि वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

६ दिन अगाडि
एमालेले समर्थन फिर्ता लिएपछि वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री बानियाँले सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम राजीनामा बुझाएका हुन् ।

यसअघि उनले सोमबार दिउँसो प्रदेशसभाको रोष्ट्रमबाटै राजीनामाको घोषणा गरेका थिए । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले पद छाडेका हुन् ।

बानियाँले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए । तर, आजै बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी वाग्मती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरेपछि उनको सरकार अल्पमतमा परेको थियो ।

वाग्मती प्रदेशसभामा राप्रपाका १३ सांसद छन् । १०४ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ५३ सांसदको समर्थन आवश्यक पर्थ्यो ।

मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसद मात्रै थिए ।