काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २.२५ अंकले घटेको छ ।
सोमबारको कारोबारपछि नेप्से २६४१ अंकमा कायम भएको छ । यसअघि शुक्रबार पनि नेप्से ७.३७ अंकले घटेको थियो ।
आज ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
बजार घटे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ५ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम साउन ११ गतेयताकै उच्च हो।
सोमबार फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.१४ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन समूह १.३० प्रतिशतले बढेको छ ।
बैंकिङ ०.५०, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.५६, लगानी ०.५९, जीवन बीमा ०.३६, माइक्रोफाइनान्स ०.६६ र निर्जीवन बीमा ०.६१ प्रतिशत घटेका छन् ।
त्यस्तै जलविद्युत् ०.४५, अन्य ०.४७ र व्यापार समूह ०.१४ प्रतिशत बढेका छन् ।
समूहगत कारोबारमा जलविद्युत् समूह अगाडि रह्यो । यस समूहमा २ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । वाणिज्य बैंकतर्फ ६५ करोड तथा उत्पादन तथा प्रशोधन समूहमा १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । रिलायन्स स्पिनिङ मिल्स ११.१७, सगरमाथा जलविद्युत् कम्पनी ११.०६ र विकास हाइड्रोपावरको मूल्य ८.२२ प्रतिशत बढेको छ ।
फर्स्ट माइक्रोफाइनान्सको मूल्य ६.६३, महिला लघुवित्त ६.५७, खानीखोला हाइड्रोपावर ६.३३ र सेन्ट्रल फाइनान्सको ४.५४ प्रतिशत घटेको छ ।
रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, रिडी पावर, खानीखोला हाइड्रोपावर र विकास हाइड्रोपावरमा सबैभन्दा धेरै कारोबार भएको छ ।