काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार राति भने कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
कोसी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर साधारणतया बदली रहने विभागको पूर्वानुमान छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यस्तै, कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको विभागले जनाएको छ।
भारी वर्षा, मेघगर्जन तथा चट्याङको सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।