मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४९ वर्षीया लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् ।
मंगलबार बिहान काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप जुरिखेतमा अनियन्त्रित भई करिब ७ बजे खोल्सामा खसेको थियो ।
दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी, छोरा २५ वर्षीय रितेन्द्र, ३१ वर्षीया रिता तथा जिप चालक दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएका थिए ।
मुख्य न्यायाधीश डाँगी र चालक चौधरीको मकवानपुरमै उपचार भइरहेको छ । बडु परिवारका सदस्यलाई भने नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।