काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा दिउँसो भारी वर्षा हुनसक्ने सम्भावना छ।
विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा वर्षा हुने देखिएको छ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोसी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोसी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।
रातिको समयमा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा समेत मध्यम वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।