काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा मन्त्रीहरूको संसद्मा प्रस्तुत हुने शैली, व्यवहार र भाषाबारे आन्तरिक छलफल गरेको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा पार्टी सभापति रवि लामिछानेले सांसद तथा मन्त्रीहरूले संसद्मा प्रस्तुत हुँदा अपनाउनुपर्ने व्यवहार र भाषाशैलीबारे चासो राखेका थिए।
पछिल्लो समय प्रतिनिधिसभामा मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने क्रममा चेतावनीपूर्ण वा रुखो शैली अपनाएको भन्दै आलोचना हुँदै आएको छ। त्यस्तै आफ्ना माग तथा प्रश्नको सम्बोधन नभएपछि सांसदहरूले पनि अमर्यादित ढंगले प्रस्तुत हुने गरेको भन्दै संसद्भित्र र बाहिर प्रश्न उठ्दै आएको छ।
यही पृष्ठभूमिमा रास्वपाले आफ्ना सांसद तथा मन्त्रीलाई संसद्मा कसरी प्रभावकारी, संयमित र मर्यादित रूपमा प्रस्तुत गर्ने भन्ने विषयमा छलफल गरेको हो।
छलफलमा संसद्मा उठ्ने प्रश्नको जवाफ दिँदा मन्त्रीहरूले संयमित भाषा प्रयोग गर्नुपर्ने, सांसदहरूले पनि संसदीय मर्यादा कायम राख्दै आफ्ना विषय प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने विषयमा विचार–विमर्श भएको बताइएको छ।
संसद्मा जनप्रतिनिधिको व्यवहार र प्रस्तुतिले पार्टीको समग्र छवि तथा सरकारको कार्यशैलीसमेत प्रभावित गर्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्नेमा रास्वपाभित्र छलफल भएको हो।
पछिल्लो समय सत्तारुढ दलका सांसद तथा मन्त्रीहरूको संसद्मा प्रस्तुतिलाई लिएर आलोचना बढ्दै गएपछि रास्वपाले आन्तरिक रूपमा त्यसको समीक्षा थालेको हो।