कांग्रेस संस्थापनइतर पक्ष अदालत जाने तयारीमा

३ दिन अगाडि
कांग्रेस संस्थापनइतर पक्ष अदालत जाने तयारीमा

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीका सांगठनिक तथा वैचारिक गतिविधि रोक्न माग गर्दै अदालत जाने तयारी गरेको छ ।

नेता मीनबहादुर विश्वकर्माले एक/दुई दिनभित्र अदालत जाने तयारी भइरहेको बताएका छन् ।

‘नेपाली कांग्रेसमा सांगठनिक, वैचारिक कामकारबाही नगर्न/नगराउन माग गर्दै एक/दुई दिनमा अदालत जान्छौँ, यसबारे साथीहरूले अध्ययन गर्दै हुनुहुन्छ,’ उनले भने ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार १५औँ महाधिवेशनको यसअघिकै कार्यतालिकालाई यथावत् राख्दै तल्ला तहका अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको थियो ।

केन्द्रीय समिति बैठकले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका तय गरेको थियो । निर्वाचन समितिले महाधिवेशनको मूल मिति कायम राख्दै तल्ला तहका अधिवेशनको तालिका संशोधन गरेपछि संस्थापनइतर पक्ष असन्तुष्ट बनेको हो ।

संस्थापनइतर पक्षले पार्टीभित्रको विवाद समाधान नभएसम्म सांगठनिक तथा वैचारिक गतिविधि अघि बढाउन नहुने भन्दै अदालतको बाटो रोज्ने तयारी गरेको हो ।

यसअघि पनि कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने सर्वोच्चको फैसलाविरुद्ध शेरबहादुर देउवा पक्षले पुनरावलोकनको माग गर्दै निवेदन दिएको थियो ।

सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः अदालतमा विचाराधीन अवस्थामा छ ।

यही पृष्ठभूमिमा संस्थापनइतर पक्षले महाधिवेशनको तयारी तथा पार्टीका अन्य सांगठनिक गतिविधिमाथि प्रश्न उठाउँदै अदालत जाने तयारी गरेको हो ।