काठमाडौं । भदौ महिना सुरु भएसँगै नेपाली बजारमा अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ समर्थन मूल्य तोकेको हो ।
चितवनलाई आधार मानेर तय गरिएको मूल्यअनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ पुगेको छ । ठूलो अन्डा ५ सय ७५ र मिडियम अन्डा ५ सय ३५ रुपैयाँ पुगेको छ । सानो अन्डाको मूल्य प्रतिपेटी ३२ सय रुपैयाँ कायम गरिएको छ ।
संघले एक साता नबित्दै प्रतिक्रेट १५ रुपैयाँ मूल्य बढाएको हो । व्यवसायीका अनुसार बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपर्दा अन्डा उत्पादन घटेको र माग धान्न कठिन भएपछि मूल्य बढेको हो । साउनमा मात्रै अन्डाको समर्थन मूल्य चारपटक बढाइएको थियो ।