मौसम पूर्वानुमान

केही ठाउँमा भारी वर्षाको सम्भावना, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

३ दिन अगाडि
केही ठाउँमा भारी वर्षाको सम्भावना, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं । देशका विभिन्न ठाउँमा गएरातिदेखि वर्षा भइरहेको छ। पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकमा ७१ मिलिमिटर, ताप्लेजुङमा ५३ मिलिमिटर र दैलेखमा ४२ मिलिमिटर वर्षा भएको छ।

मध्य तथा पश्चिमी क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण नुवाकोटको त्रिशूली नदी र तादी खोलामा बाढी आएको छ। नदी तथा खोला आसपासका बासिन्दालाई आज बिहानसम्म विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ।

यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण नदी तथा खोलाको जलसतह बढ्न सक्ने भएकाले नदी, खोला र तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ। पछिल्लो समय नुवाकोटलगायतका क्षेत्रमा निरन्तर वर्षापछि बाढीसम्बन्धी सतर्कता आवश्यक देखिएको छ।