काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक कटान हुँदा यातायात प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमलाई मध्यनजर गर्दै केही स्थानमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडकखण्ड प्रभावित भएका छन्।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकमा सवारी सञ्चालन गर्न नपाइने जनाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो भने उपलब्ध रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेको छ। सोही गाउँपालिकाको लिपिङ क्षेत्रमा सडक भासिएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा बिहीबार दिउँसो पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ।
लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले सडक अवरुद्ध भएका स्थानमा अझै पनि बाढी तथा पहिरोको जोखिम कायम रहेकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। अवस्था हेरेर आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्नसमेत प्रहरीले अनुरोध गरेको छ।