झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। मेचीनगर नगरपालिका-८ की ६४ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो। हालसम्म जिल्लामा जेइ संक्रमितको संख्या ११ पुगेको छ। मृत्यु हुनेमा चार महिला र दुई पुरुष रहेका छन्।
वर्षायाम सुरु भएसँगै झापामा जेइ संक्रमण बढेको चिकित्सकहरूले बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालयले विभिन्न स्थानमा जेइ परीक्षणलाई तीव्र बनाउनुका साथै स्वास्थ्यकर्मीको टोली परिचालन गरी अनुगमन गरिरहेको जनाएको छ।