काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ।
यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशसहित कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिमको तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ। देशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
भारी वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक तथा हवाई यातायातमा असर र तराई क्षेत्रमा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई विभागले आग्रह गरेको छ।