काठमाडौं । उमेर ७८ वर्ष। हातमा एउटा चेक । गन्तव्य सिंहदरबार । उद्देश्य एउटै– विपत्तिमा परेकाहरूका लागि आफ्नो तर्फबाट केही सहयोग गर्नु ।
भदौ १४ गते दिउँसो २ बजेतिर धनपति भण्डारी सिनामङ्गलबाट सिंहदरबारतर्फ लागे । देशमा आएको विपत्तिको खबरले उनको मन छोएको थियो । त्यसैले सरकारले बोलाओस् भनेर पर्खिएनन् । आफ्नो खाताको चेक काटे र आफैँ सिंहदरबार हानिए ।
सिंहदरबारको दक्षिण गेटमा पुगेपछि उनले त्यहाँ खटिएका प्रहरीलाई भने, ‘प्रधानमन्त्री राहत कोषमा पैसा दिन आएको, मलाई पैसा बुझाउने ठाउँमा पठाइदिनूस् ।’
प्रहरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फोन गर्यो । फोन सचिवालयका रोशन तामाङसम्म पुग्यो ।
रोशनले छोटकरीमा कुरा बुझेर अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानासँग सम्पर्क गरे ।
‘पैसा त अर्थमन्त्रीज्यूले लिने हो नि, होइन र ?’ रोशनले नवीनलाई सोधे ।
‘हो,’ नवीनले जवाफ दिए ।
त्यसपछि रोशनले भने, ‘त्यसो भए म धनपति बुबालाई अर्थ मन्त्रालय पठाउँछु ।’
त्यसपछि सिंहदरबारको दक्षिण गेटमा रहेका प्रहरी साथीले धनपति बुबालाई लिएर अर्थ मन्त्रालय पुगे ।
त्यतिबेला अर्थ मन्त्रालयमा राहत रकम लिन आउनेहरूको बाक्लो भीड थियो । मन्त्रालय विपत्तिमा परेकाहरूलाई राहत जुटाउने र वितरणको व्यवस्थापनमा व्यस्त थियो । त्यही भीडमा एक जना ७८ वर्षीय वृद्ध भने चुपचाप आफ्नो पालो कुरिरहेका थिए ।
केहीबेरको पर्खाइपछि धनपति बुबाको पालो आयो ।
उनलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यकक्षमा लगियो ।
धनपति बुबालाई देख्नेबित्तिकै अर्थमन्त्री वाग्ले आफैँ उनी बसेको ठाउँमा आए । धन्यवाद दिए । त्यसपछि एउटा प्रश्न गरे ।
‘यत्रो रकम, यो उमेरमा तपाईं व्यक्तिगत रूपमै सहयोग गर्न चाहनुहुन्छ ?’
धनपति बुबाले सहजै भने, ‘हो ।’
कुरा यत्तिमै सकिएन । धनपति बुबाको कथा बुझ्दै जाँदा उनको सहयोगको पछाडि रहेको भावना अझ गहिरो रहेछ ।
जीवनको लामो समय उनले भारतमा जागिर गरेर बिताए । छोराछोरी पढाए, हुर्काए र आफ्नो खुट्टामा उभ्याए । छोराछोरीले प्रगति गरेपछि उनी आफ्नो थातथलो बुटवल फर्किए । पछि छोराछोरीले काठमाडौँमा राम्रो प्रबन्ध गरेपछि उनी पनि बुटवलबाट काठमाडौँ आएर सिनामङ्गलमा बस्न थाले ।
तर देशमा ठूलो विपत्ति आउँदा उनको मन भने फेरि बाहिर निस्किन्छ ।
उनी कसैको आग्रह पर्खिँदैनन् । कुनै संस्था खोज्दैनन् । प्रचारको बाटो रोज्दैनन् ।
आफ्नो खाताको चेक काट्छन्, अनि सिंहदरबार आइपुग्छन् ।
सरकारलाई सहयोग गरेको यो उनको पहिलोपटक पनि होइन ।
यसपटकसहित उनले सरकारलाई गरेको सहयोग तेस्रोपटक हो ।
अझ रोचक कुरा त सहयोग रकममा छ ।
हरेकपटक उनले सरकारलाई दिएको रकम ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ ।
अंकमा लेख्दा– ७,७७,७७७ रुपैयाँ ।
किन यही अंक ? यसको पछाडि कुनै विशेष कारण छ कि संयोग मात्र हो ? त्यो कुरा भने धनपति बुबासँग सोध्न भ्याइएन ।
तर यसपटक उनको चेकको गन्तव्य भने स्पष्ट छ– रसुवाका बाढीपीडित ।
धनपति बुबाले चेक अर्थमन्त्री वाग्लेलाई थमाए । चेक समात्दै अर्थमन्त्रीले आश्वस्त पारे, यो रकम गलत ठाउँमा नजानेछ ।
‘यो रकम रसुवाका बाढीपीडितको हितमा खर्च हुने गरी सिधै जिल्लाका पालिकाहरूमा जान्छ,’ अर्थमन्त्रीले भने, ‘धेरै–धेरै धन्यवाद बुबा ! अब यो चेक सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुन्छ ।’
अर्थमन्त्रीको कुरा सुनेपछि धनपति बुबाको जवाफ झनै सरल थियो । तर त्यही सरलतामा उनको विश्वास देखिन्थ्यो।
बाले भने, ‘हजुरलाई दिएपछि म ढुक्क भएँ, त्यही भएर त खोज्दै–खोज्दै आएको ।’
कति ठूलो कुरा छ यो एउटा वाक्यमा !
देशमा विपत्ति आउँदा सरकारलाई सहयोग गर्नुपर्छ भन्ने सोच । सहयोग रकम सही ठाउँमा पुग्छ भन्ने विश्वास । अनि त्यो विश्वास बोकेर ७८ वर्षको उमेरमा आफैँ सिंहदरबारसम्म आइपुग्ने हिम्मत ।
धनपति बुबाले सिंहदरबारमा ठूलो रकमको चेक मात्र दिएनन्, एउटा सानो तर अर्थपूर्ण सन्देश पनि छाडेर गए–
देशलाई अप्ठ्यारो पर्दा सरकार मात्र होइन, नागरिकको मन पनि अघि सर्नुपर्छ ।
र सायद त्यसैले होला, त्यो दिन सिंहदरबारबाट फर्किँदै गर्दा धनपति बुबाको हात खाली थियो, तर मन भने पहिलेभन्दा धेरै भरिएको थियो ।