काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सरकारले तत्कालै खोज तथा उद्धार, उपचार, राहत र सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढी आएलगत्तै सरकार ‘अलर्ट’ अवस्थामा पुगेको र विभिन्न निकायबीच समन्वय गरेर उद्धार तथा राहतका काम अघि बढाइएको जानकारी दिए।
प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेर प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राखी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताए। घटना लगत्तै मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक बसेर खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा र राहत परिचालनबारे समन्वय गरिएको पनि उनले जानकारी दिए।
जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गको गल्छी, नुवाकोट, रसुवाको स्याफ्रुबेसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा तत्काल यात्रा नगर्न र नगराउन स्थानीय प्रशासन तथा सर्वसाधारणलाई अनुरोध गरिएको थियो। जोखिमयुक्त क्षेत्रमा यातायातलगायत आवतजावतमा रोक लगाएर नागरिकको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताए।
खोज तथा उद्धारलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको र आवश्यकताअनुसार थप हवाई तथा स्थल उद्धारका स्रोत परिचालन गरिएको उनले बताए।
सरकारले रसुवा र नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोषमा १–१ करोड तथा धादिङ जिल्ला विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ थप निकासा गरेको प्रधानमन्त्री शाहले जानकारी दिए।