काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ४० करोड रुपैयाँ सहयोग गर्ने भएका छन्।
भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको उद्धार तथा राहतमा सहयोग पुर्याउन प्रहरीले आफ्नो तलबबाट रकम उपलब्ध गराउने निर्णय गरेको हो।
प्रहरीका उच्च अधिकारीहरूको सोमबार बसेको बैठकले कार्यालय सहयोगीको दुई दिन, प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मको पाँच दिन तथा प्रहरी निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको छ दिनको तलब कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
त्यस्तै, प्रहरी निरीक्षकदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मका अधिकारीले १२ दिन तथा प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मले १५ दिनको तलब बाढीपीडितका लागि सहयोग गर्ने निर्णय भएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले राहत कोषमा रकम जम्मा गर्ने निर्णय भएको जानकारी दिए।