काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका प्रस्ताव गर्दै तयारी अघि बढाएको छ।
बुधबार चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावअनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते तथा प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने तयारी छ। त्यस्तै, जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति निर्धारण गरी आन्तरिक तयारी अघि बढाइरहेका बेला संस्थापन इतर समूहले भने छुट्टै महाधिवेशनको दिशामा तयारी थालेको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेस दुई समूहमा विभाजित छ। पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै पक्षले छुट्टाछुट्टै महाधिवेशन गर्ने गरी तयारी अघि बढाएका छन्।