भोटेकोसी बाढीबाट चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित

२ हप्ता अगाडि
भोटेकोसी बाढीबाट चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।

बाढीबाट सबैभन्दा बढी नुवाकोटका खानेपानी आयोजना प्रभावित भएका छन्। जिल्लाका २२ वटा आयोजनामा क्षति पुगेको र ती आयोजनामा मात्रै ४ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको विभागले जनाएको छ।

विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार धादिङका २०, गोरखाका पाँच र रसुवाका आठ खानेपानी आयोजनामा क्षति पुगेको छ।

खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा तत्काल सेवा सञ्चालन गर्न विभागले वैकल्पिक स्रोतको प्रयोग, क्षतिग्रस्त संरचनाको मर्मत तथा दीर्घकालीन पुनःस्थापनाको काम अघि बढाएको छ।

विशेषगरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ। यसबाट दैनिक करिब ५ लाख लिटर पानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

त्यस्तै, एक एचपी क्षमताका सातवटा पम्प सञ्चालनमा ल्याएर बट्टार क्षेत्रका करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सञ्चालन गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा पानी वितरण भइरहेको छ।

त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा सेवा विस्तारका लागि आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिएको छ। विभागका अनुसार दुई एचपी र एक एचपी क्षमताका १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्याङ्की र करिब ४१.१ किलोमिटर एचडीपीई पाइप प्रभावित क्षेत्रमा जडानका लागि तयारी अवस्थामा छन्।

प्रभावित क्षेत्रमा सामग्री ढुवानी तथा जडान गरी खानेपानी सेवा विस्तार गर्ने तयारी भइरहेको विभागले जनाएको छ। क्षतिग्रस्त संरचनाको मर्मत, पुनःस्थापना र नियमित पानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली परिचालन गरिएको छ।

क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम अघि बढाइने विभागले जनाएको छ।