गगन र शेखरबीच भेटवार्ता, कांग्रेस एकढिक्का बनाउनुपर्नेमा जोड

५ दिन अगाडि
गगन र शेखरबीच भेटवार्ता, कांग्रेस एकढिक्का बनाउनुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ।

थापासँगको भेटमा कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताएका छन्।

कोइरालाको सचिवालयका अनुसार उनले पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको बताएका थिए।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए। पार्टीलाई एकताबद्ध बनाउन आफू लागिपरेको उनको भनाइ थियो।

भेटवार्तामा भदौ १० गते नेपाल–चीन सीमावर्ती रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा उत्पन्न विपत्तिबारे समेत छलफल भएको थियो।

सभापति थापाले शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गरेका थिए। पार्टीभित्रको विवाद समाधानका विषयमा थापा र खड्काबीच भएको छलफल सकारात्मक रहेको कांग्रेस नेताहरूले बताएका छन्।