काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै स्थानमा मध्यमसम्म वर्षा हुने तथा केही भूभागमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
विभागका अनुसार दिउँसो मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। यस्तै कोसी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ।
सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
काठमाडौंमा दिउँसोदेखि वर्षा
काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको छ। भक्तपुरका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार काठमाडौंमा दिउँसोदेखि राति ७–८ बजेसम्म मध्यमसम्मको वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकाका छेउछाउका क्षेत्रमा भने भारी वर्षा हुनसक्ने उनले बताएका छन्।
उनका अनुसार राति काठमाडौंमा वर्षाको मात्रा केही कम हुने सम्भावना रहेको छ।
राति कहाँ-कहाँ वर्षा हुन्छ?
जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुनसक्ने विभागले जनाएको छ।
देशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
मनसुनी वायुको प्रभाव
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
वर्षासँगै मेघगर्जन, चट्याङ तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।