धादिङ । धादिङको थाक्रे गाउँपालिका-२ स्थित बाह्रकिलो क्षेत्रमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
बुधबार बिहान सडक माथिबाट ठूलो सुक्खा पहिरो खसेपछि राजमार्ग बन्द भएको हो ।
सडक माथिबाट पहिरोसँगै ढुंगा झर्ने क्रमसमेत जारी रहेकाले तत्काल पहिरो पन्छाउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाउन सडक डिभिजन तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको भए पनि माथिबाट निरन्तर ढुंगा र माटो झरिरहेकाले सडक खुलाउन केही समय लाग्ने बताइएको छ ।
धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाका अनुसार पहिरो खस्ने क्रम नरोकिएकाले जोखिम मोलेर पहिरो पन्छाउने अवस्था छैन ।
माथिबाट ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै सुरक्षित रूपमा सडकमा जम्मा भएको पहिरो हटाउने काम अघि बढाइने उनले जानकारी दिए ।
राजमार्ग बन्द भएपछि काठमाडौं भित्रिने तथा काठमाडौंबाट बाहिरिने सवारीसाधन बाह्रकिलो क्षेत्रमा रोकिएका छन् ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर माथिबाट ढुंगा झर्ने क्रम जारी रहेकाले सडक पूर्णरूपमा सुरक्षित भएपछि मात्रै यातायात सञ्चालन गरिने बताइएको छ ।