काठमाडौं । मंगलबार उच्च अंकले बढेको सेयर बजार बुधबार फेरि घटेको छ। नेप्से परिसूचक २१.१९ अंकले घटेर २६१२.४२ विन्दुमा झरेको छ।
मंगलबार नेप्से ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको थियो। सो दिन पछिल्लो दुई महिनायताकै उच्च ८ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो।
बुधबार कारोबार रकम पनि घटेर ५ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ। अघिल्लो दिन ८ अर्बभन्दा बढीको कारोबार भएको थियो।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २ करोडभन्दा बढी कित्ता कारोबार भएकोमा बुधबार करिब डेढ करोड कित्तामा सीमित भएको छ।
सरकारले सोमबार बजार सुधारका लागि कार्ययोजना सार्वजनिक गरेपछि मंगलबार बजारमा उच्च वृद्धि भएको थियो। तर बुधबार भने बजार पुनः घटेको छ।
बुधबार ४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२५ वटाको घटेको छ। १२ वटा कम्पनीको सेयर मूल्य भने अघिल्लो दिनकै अवस्थामा कायम रहेको छ।
आज अधिकतम बढ्ने कम्पनीको सेयर मूल्य ६.३७ प्रतिशतले बढेको छ भने अधिकतम गिरावट ७.७३ प्रतिशत रहेको नेप्सेले जनाएको छ।
बुधबार कुनै पनि समूहको सूचक बढ्न सकेन। अघिल्लो दिन सबै समूहमा हरियाली छाएकोमा आज सबै समूहको सूचक रातो भएको छ। कारोबार रकमका आधारमा कुनै कम्पनीमा अधिकतम ३७ करोड रुपैयाँसम्मको कारोबार भएको छ।