काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारले करिब २ खर्ब रुपैयाँ बजेट खर्च गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यो वार्षिक बजेट लक्ष्यको ९.४१ प्रतिशत हो।
सरकारले चालुतर्फ विनियोजित १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँमध्ये भदौ मसान्तसम्म १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ। यो कुल विनियोजनको ९.६ प्रतिशत हो।
पुँजीगततर्फ विनियोजित ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँमध्ये ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक लक्ष्यको १.७८ प्रतिशत हो।
वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन भएकोमा ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यो १६.५९ प्रतिशत हो।
यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी रहेको छ। भदौ मसान्तसम्म कुल राजस्व १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ संकलन भएको छ। यो वार्षिक लक्ष्यको ११.५८ प्रतिशत हो। खर्चको तुलनामा सरकारको आम्दानी करिब ९ अर्ब ७२ करोड रुपैयाँ कम छ।
कर राजस्वतर्फ १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ उठाउने लक्ष्य रहेकामा भदौ मसान्तसम्म १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ। गैरकर राजस्वतर्फ १ खर्ब ७७ अर्ब उठाउने लक्ष्य रहेकामा १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ।
सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा भदौ मसान्तसम्म ५ अर्ब ५३ करोड रुपैयाँ अर्थात् ८.९६ प्रतिशत अनुदान प्राप्त भएको छ।