काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन अधिकतम लचकता अपनाउने जनाएको छ।
सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले असन्तुष्ट नेताहरूले अघि सारेका माग सम्बोधन भइसकेको बताए। उनले अब सिङ्गो पार्टीपंक्तिलाई महाधिवेशनमा केन्द्रित हुन आग्रह गरे।
१४औँ महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्य एकता प्रक्रियामा आइसकेको उनले बताए। उनले पार्टीमा कोही नछुट्ने र कसैको आवाज नदबाइने भन्दै सबैलाई महाधिवेशनमा सहभागी हुन आह्वान गरे।
शेखर कोइराला, पूर्णबहादुर खड्का र पूर्वसभापति शेरबहादुर देउवालाई पनि महाधिवेशनमा सहभागी गराउन अन्तिम समयसम्म प्रयास गर्ने कांग्रेसले जनाएको छ।
प्रवक्ता चालिसेले सभापतिले पूर्वसभापति देउवाको हातबाट महाधिवेशन उद्घाटन गराउन अनुरोध गर्ने बताए। अग्रज नेताहरूलाई सम्मानमा कुनै कमी नहुने उनको भनाइ थियो।
कांग्रेसले १६ गते हुने महाधिवेशनले पार्टी एकताको सन्देश दिने दाबी गरेको छ।