काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ।
तराईका थोरै स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
राति कोसी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ।
राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा वाग्मती प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।
तराईतर्फ कोसी प्रदेशका केही स्थान, मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले जनाएको छ।