धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक रमदैया भवाडी गाविसका वडा नं. २, ३, ४, ६, ७ र ८ मा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका हुन्।
नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई ३८८ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। उक्त क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो।
लालपुर्जा पाएपछि स्थानीयको जग्गामाथिको स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ। यससँगै जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन तथा भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ।
यसअघि धनुषाका ३ हजार ९६६ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो।