काठमाडौं । परीक्षा प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा प्रकाशनमा ढिलाइ नगर्न लोक सेवा आयोगलाई सर्वोच्च अदालतले आदेश दिएको छ।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले मनबहादुर थापासहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
निवेदकहरूले प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका पाँच पदका लागि भएका विज्ञापनमा लिखित परीक्षा र अन्तर्वार्तासमेत सम्पन्न भइसकेपछि पनि अन्तिम नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै रिट दायर गरेका थिए।
सर्वोच्चले परीक्षा तथा अन्तर्वार्तासहित सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि यथाशीघ्र परीक्षाफल प्रकाशन हुनु उम्मेदवारको वैधानिक अपेक्षा हुने उल्लेख गरेको छ। लोक सेवा आयोग ऐन, २०७९ र लोक सेवा आयोग कार्य सञ्चालन निर्देशिका, २०७९ ले पनि सम्पूर्ण प्रक्रिया पूरा भएपछि अन्तिम नतिजा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको सर्वोच्चले जनाएको छ।
अन्तिम नतिजा प्रकाशन भइसकेको नदेखिएकाले त्यसलाई नरोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो। साथै लोक सेवा आयोगलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिइएको छ।