काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन्।
टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।
कास्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे। उनले युकोबाट ६ र इप्पोनबाट ३ अंक जोड्दै खेल जिते।
यसअघि क्वाटरफाइनलमा मकाउका खेलाडीसँगको खेलमा तेन्जिङ १–० ले पछाडि रहेका बेला विपक्षीले गरेको गल्तीका कारण उनी विजेता घोषित भएका थिए। कास्य जितेसँगै जारी एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको छ।