काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहीबार (असोज ८) देशभरका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुनसक्ने महाशाखाले जनाएको छ।
यस्तै, मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।
त्यसैगरी, कोसी र वाग्मती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।
यसैबीच, बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रका रूपमा रहेको छ।
उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले आगामी दिनमा समेत देशका विभिन्न भू-भागमा वर्षाको गतिविधि बढ्नसक्ने भएकाले मौसमको पछिल्लो जानकारी हेरेर यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्न महाशाखाले सुझाव दिएको छ।