न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्लो समय देखिएका विपद्ले जलवायु संकटको जोखिम पुष्टि गरेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गुटेरेसले जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा नेपालसहित हिमाली मुलुक बढी प्रभावित भइरहेको बताए। तापक्रम वृद्धि र हिमनदी पग्लने क्रम बढ्दै गए विश्वले अझ ठूलो समस्या सामना गर्नुपर्ने उनको भनाइ छ।
तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै आफूले दिएको चेतावनी स्मरण गर्दै गुटेरेसले भोटेकोशी बाढीजस्ता घटनाले जलवायु परिवर्तनका असरलाई वास्तविकतामा परिणत गरेको बताए।
उनले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अब भविष्यको विषय नभई वर्तमानको वास्तविकता बनिसकेको उल्लेख गरे। विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूले नै जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको उनको भनाइ छ।
गुटेरेसले जलवायु न्यायको आवश्यकता औँल्याउँदै प्रदूषण गर्नेहरूले त्यसको मूल्य तिर्नुपर्ने र जलवायुजन्य विपद्बाट प्रभावित मुलुकले न्याय तथा आवश्यक वित्तीय सहयोग पाउनुपर्ने बताए।
जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्न स्थापना गरिएको कोषमा पर्याप्त रकम नभएको उल्लेख गर्दै उनले विकसित मुलुकलाई जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्न आग्रह गरे। साथै जलवायु अनुकूलन वित्त तीन गुणा बढाउन र हानि तथा क्षति कोषमा थप स्रोत परिचालन गर्न आह्वान गरे।