काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना तथा पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आयोजित जी–७ विकास मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालमा पछिल्लो समय आएको जलवायुजन्य विपद्बाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गरे ।
उनले नेपालको पुनःस्थापना तथा पुनर्निर्माण, जलवायु वित्त, विपद् पूर्वतयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा जी–७ लगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
बैठकमा नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री खनालले कठिन जलवायु विपद्को अवस्थामा नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने जी–७ सदस्य राष्ट्र तथा अन्य मित्रराष्ट्रप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरे ।
‘नेपालले जलवायु परिवर्तन, दिगो विकास, उत्थानशीलता र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउन जी–७ ले निर्वाह गर्दै आएको नेतृत्वको उच्च कदर गर्दछु,’ उनले भने ।
बैठक आयोजना गरेकोमा जी–७ को अध्यक्ष राष्ट्र फ्रान्सलाई समेत मन्त्री खनालले धन्यवाद व्यक्त गरे ।
हालैको जलवायुजन्य विपद्बाट नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै उनले बाढीका कारण घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा जलविद्युत् पूर्वाधारमा क्षति पुगेको बताए । विपद्का कारण जनजीवनसँगै अत्यावश्यक सेवासमेत प्रभावित भएको उनको भनाइ थियो ।
मन्त्री खनालका अनुसार प्रारम्भिक आकलनमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि ५ अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने देखिएको छ ।
उनले जलवायु परिवर्तनको असरबाट प्रभावित नेपालजस्ता मुलुकलाई पुनःस्थापना र पुनर्निर्माणमा आवश्यक पर्ने स्रोत जुटाउन अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।