जनकपुरधाम । सम्भावित भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। सम्भावित विपद्बाट जनधनको क्षति रोक्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको हो।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीका अनुसार प्रदेशका सबै सुरक्षा संयन्त्रलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको छ। आठवटै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ।
जोखिम र अति जोखिमयुक्त क्षेत्र पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीले बताए। निर्माणाधीन पुल, सडक तथा अन्य जोखिमयुक्त संरचनामा आकस्मिक बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर विशेष निगरानी गर्न निर्देशन दिइएको छ।
प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगन्ज र जनकपुरलाई पनि उद्धारका लागि तयारी अवस्थामा राखिएको छ। यसैबीच गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले तीनवटै सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरेर उद्धार तथा राहतको तयारी गर्न निर्देशन दिएको छ।
मधेशमा रौतहट बाढी तथा डुबानको दृष्टिले उच्च जोखिममा रहेको जिल्ला हो। बागमती र लालबकैया नदीमा आउने बाढीबाट गौरसहित राजदेवी, ईशनाथ, राजपुर, बौधीमाई, गढीमाई र मौलापुरका तटीय बस्ती प्रभावित हुने गरेका छन्।
धनुषामा कमला, जलाद र औरही नदीको बहाव बढ्दा विभिन्न स्थानीय तह जोखिममा पर्छन् भने जनकपुरधाममा निकासको समस्या हुँदा सहरी डुबानको जोखिम रहन्छ। सिरहामा कमला, बलान र स्थानीय खोलाको बाढी तथा सप्तरीमा सप्तकोशी, खाँडो, महुली, जिता र बलान नदीका कारण विभिन्न बस्ती जोखिममा छन्।
सर्लाहीमा बागमती, लखनदेई र मनुसमारा नदी, महोत्तरीमा रातु, मडाहा, बिग्ही र अङ्कुशी तथा बारा र पर्सामा चुरे क्षेत्रबाट आउने आकस्मिक बाढी र नदी कटानको जोखिम रहेको सुरक्षा निकायको विश्लेषण छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट हुँदै उत्तर–पश्चिमतर्फ सरेकाले त्यसको प्रभाव नेपालमा परेको हो। प्रणालीका कारण कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।