सीलाई स्वागत गर्न ट्रम्प विमानस्थलमै पुगे, अमेरिका–चीन सम्बन्धमा देखियो असाधारण कूटनीतिक दृश्य

४ हप्ता अगाडि
सीलाई स्वागत गर्न ट्रम्प विमानस्थलमै पुगे, अमेरिका–चीन सम्बन्धमा देखियो असाधारण कूटनीतिक दृश्य

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न विमानस्थलमै पुगेका छन्। वासिङ्टन पुगेका सीलाई ट्रम्प पत्नी मेलानियासहित मेरील्यान्डस्थित जोइन्ट बेस एन्ड्रुज पुगेर स्वागत गरेका हुन्।

अमेरिकी राष्ट्रपतिले विदेशी राष्ट्राध्यक्षलाई विमानस्थलमै पुगेर स्वागत गर्ने अभ्यास सामान्य मानिँदैन। प्रायः विदेशी नेताको औपचारिक स्वागत ह्वाइट हाउसमा हुने भएकाले ट्रम्पको यो कदमलाई अमेरिका–चीन सम्बन्धको वर्तमान सन्दर्भमा असाधारण कूटनीतिक संकेतका रूपमा हेरिएको छ।

विशेषगरी चीन अमेरिकाको प्रमुख रणनीतिक प्रतिस्पर्धी रहेका बेला सीलाई स्वयं विमानस्थल पुगेर स्वागत गर्नुले भ्रमणलाई दिइएको उच्च राजनीतिक महत्त्व देखाएको छ। कूटनीतिमा स्वागतको स्थान, तह र औपचारिकता पनि राजनीतिक सन्देशका रूपमा लिइन्छ।

सीको भ्रमण एक दशकभन्दा बढी समयपछि भएको उनको पहिलो अमेरिकी राजकीय भ्रमण हो। भ्रमणका क्रममा औपचारिक स्वागत समारोह, सैन्य सम्मान, द्विपक्षीय वार्ता र राजकीय भोजका कार्यक्रम छन्। औपचारिक स्वागत समारोहमा अमेरिकी सेनाका विभिन्न अंगका ४७९ जना सहभागी हुने कार्यक्रम छ।

अमेरिका र चीनबीच व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता, ताइवान, दुर्लभ खनिज र राष्ट्रिय सुरक्षालगायत विषयमा गम्भीर मतभेद छन्। दुवै देश आर्थिक तथा प्राविधिक नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका छन्। तर विश्व अर्थतन्त्र र आपूर्ति शृङ्खलामा दुई देशको गहिरो अन्तरनिर्भरता रहेकाले उनीहरूबीच पूर्ण टकरावबाट बच्ने प्रयास पनि हुँदै आएको छ।

सीको भ्रमणअघि अमेरिका र चीनले व्यापारसम्बन्धी अस्थायी युद्धविरामलाई जनवरी १० सम्म लम्ब्याउने सहमति गरेका छन्। त्यसैले विमानस्थलको स्वागत र व्यापारिक सहमतिलाई राजनीतिक सम्बन्धमा तनाव कम गर्ने प्रयासका रूपमा पनि हेर्न सकिन्छ।

ट्रम्पले कूटनीतिमा व्यक्तिगत सम्बन्धलाई महत्त्व दिँदै आएका छन्। दुई देशका नेताबीच प्रत्यक्ष सम्बन्ध बने कठिन विषयमा पनि संवाद र सम्झौताको वातावरण बनाउन सकिने उनको दृष्टिकोण रहँदै आएको छ। तर व्यक्तिगत सम्बन्धले ताइवान, प्रविधि, व्यापार र राष्ट्रिय सुरक्षाजस्ता संरचनागत विवाद तत्काल समाधान गर्ने अवस्था भने छैन।

चीनका लागि पनि यो स्वागत प्रतीकात्मक रूपमा महत्त्वपूर्ण छ। ट्रम्प चीन भ्रमणमा जाँदा उनलाई बेइजिङ विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए। अहिले सीलाई ट्रम्प स्वयं विमानस्थल पुगेर स्वागत गरेका छन्।

यसबीच, संयुक्त राष्ट्रसंघको ८१औँ महासभा न्यूयोर्कमा चलिरहेका बेला सी भने महासभामा सहभागी हुन गएनन्। चीनले उपराष्ट्रपति हान झेङलाई आफ्नो प्रतिनिधिका रूपमा पठाएको छ। सीले भने अमेरिकी राष्ट्रपतिसँगको तीनदिने राजकीय भ्रमणलाई प्राथमिकता दिएका छन्।

ह्वाइट हाउसका अनुसार सीका लागि सेप्टेम्बर २४ मा ह्वाइट हाउसको दक्षिणी लनमा औपचारिक राजकीय स्वागत समारोह आयोजना हुँदैछ। सैन्य सम्मान, राष्ट्रिय धुन, सैन्य प्रदर्शन र हवाई प्रदर्शनसहितको कार्यक्रममा ४७९ अमेरिकी सैनिक सहभागी हुनेछन्।