काठमाडौँ । निरन्तरको वर्षाका कारण काठमाडौँ आवतजावत गर्ने प्रमुख राजमार्गहरू पहिरोका कारण अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, कान्तिलोकपथ र बीपी राजमार्गमा पहिरो खसेपछि यातायात पूर्णरूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
धादिङको कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काका अनुसार कृष्णभिरसहित सात स्थानमा गएराति पहिरो खसेको छ।
बिहीबार साँझदेखि रातभर पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। शुक्रबार बिहान ५ बजेदेखि यातायात सञ्चालन गर्ने तयारी भए पनि निरन्तर वर्षाका कारण पहिरो पन्छाउन समस्या भएपछि राजमार्ग अनिश्चितकालका लागि बन्द भएको एसपी खड्काले बताए।
‘पहिरो पन्छाउने प्रयास भइरहेको छ। तर, निरन्तरको वर्षाका कारण समस्या भएको छ,’ एसपी खड्काले नेपालखबरसँग भने।
यसअघि गत भदौ १४ गते त्रिशूली नदीको कटानका कारण कृष्णभिर क्षेत्रमा सडक भासिएको थियो। त्यसपछि करिब दुई साताको प्रयासमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको थियो। अहिले सोही डाइभर्सनसहित आसपासका स्थानमा समेत पहिरो खसेको प्रहरीले जनाएको छ।
यस्तै, कान्तिलोकपथ र बीपी राजमार्ग पनि विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध भएका छन्। तीनवटै प्रमुख सडक अवरुद्ध हुँदा काठमाडौँबाट बाहिरिने तथा काठमाडौँ भित्रिने सवारी आवागमन प्रभावित भएको छ।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।