मौसम पूर्वानुमान

पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

४ हप्ता अगाडि
पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास केन्द्रित रहेको छ।

महाशाखाका अनुसार उक्त प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना छ। त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने पूर्वानुमान गरिएको छ।

आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भू–भागका अधिकांश स्थान तथा मधेस प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। यस्तै, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।

मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, मधेस तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

भारी तथा अति भारी वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने, सडक तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।