देशका अधिकांश नदीमा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको चेतावनी

३ हप्ता अगाडि
देशका अधिकांश नदीमा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको चेतावनी

काठमाडौं । देशका अधिकांश नदी तथा खोलामा जलसतह बढ्ने सम्भावना रहेकाले बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोसी, नारायणी, बागमती, कन्काई, कमला र तिनका सहायक नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ।

पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र तिनका सहायक नदीमा भने जलसतह सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि वर्षासँगै यी नदीमा पनि बहाव बढ्दै जाने अनुमान गरिएको छ।

महाशाखाका अनुसार काठमाडौंसहित देशका अधिकांश जिल्लाका साना नदी तथा खोलामा समेत बाढी आउने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं उपत्यका र आसपासका जिल्लामा साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

त्यस्तै, चितवन, नवलपरासी, रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, बागलुङ, पर्वत, रुकुम, रोल्पा, सल्यान, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरालगायत जिल्लामा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लामा भने साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको चेतावनी दिइएको छ।