आगामी दुई दिन पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम बढ्ने

३ हप्ता अगाडि
आगामी दुई दिन पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको जोखिम बढ्ने

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी दुई दिन पश्चिम नेपालमा वर्षाको गतिविधि बढ्ने मौसमविद्ले बताएका छन्। मौसमविद् राजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको छ।

पाल्पाको अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको उनले जानकारी दिए। पछिल्ला दुई दिनदेखि लगातार वर्षा भइरहेकाले विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ।

लामिछानेका अनुसार न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा रहेको छ। यो प्रणाली क्रमशः नेपालतर्फ सर्दै जाने र यसको प्रभाव पश्चिमी भूभागमा बढ्ने अनुमान गरिएको छ।

शुक्रबार र शनिबार विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने सम्भावना छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षा घट्दै जाने र मौसममा सुधार आउने अनुमान गरिएको छ।

असोज १० गते शनिबारसम्म प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशमा वर्षा बढ्न सक्ने पूर्वानुमान छ। असोज ११ गते आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आए पनि पश्चिमी क्षेत्रमा वर्षाको प्रभाव कायम रहनेछ।

असोज १२ गतेदेखि देशभर मौसम क्रमशः सुधार हुने र असोज १३ गतेदेखि वर्षाको प्रभाव अझ कम हुने विभागको अनुमान छ।

मौसमविद् लामिछानेले मौसम प्रणाली परिवर्तन भइरहन सक्ने भएकाले विभागले निरन्तर निगरानी गरिरहेको बताए। भारी वर्षा भइरहेका तथा चेतावनी जारी गरिएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न र बाढी, पहिरो तथा डुबानबाट बच्न आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका छन्।