अफगानिस्तानलाई हराउँदै नेपाल एसियाली खेलकुदको क्वाटरफाइनल नजिक

३ हप्ता अगाडि
अफगानिस्तानलाई हराउँदै नेपाल एसियाली खेलकुदको क्वाटरफाइनल नजिक

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । कप्तान रोहित पौडेलले अविजित ३३ र दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो । उसका लागि फेसल शिनोजादाले सर्वाधिक ३३, नजिबुल्लाह जाद्रानले ३० र नङ्गेलिया खरोटेले १७ रन बनाए ।

नेपालका कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए ।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग छ । यसअघि बिहीबार भएको खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको थियो । नेपालले अब शनिबार जापानसँग खेल्नेछ ।

समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलमा नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीको सामना गर्नेछ ।

यसअघिको एसियाली खेलकुदमा पनि नेपाल क्वाटरफाइनलमा पुगेको थियो । त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो ।