काठमाडौं । देशका विभिन्न स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति दुवै समयमा देशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्नेछ।
आज दिउँसो देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कोसी र मधेस प्रदेशमा सामान्यतया बदली रहने महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा तथा हिमपात हुनसक्नेछ।
रातिको समयमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा तथा वाग्मती प्रदेशको तराई भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस र कोसी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ।
वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपासमा रहेको बलियो न्यूनचापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने क्रममा न्यूनचापीय प्रणालीका रूपमा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।