मौसम पूर्वानुमान

चार प्रदेशमा भारी वर्षाको सम्भावना, कहाँ कस्तो ?

३ हप्ता अगाडि
चार प्रदेशमा भारी वर्षाको सम्भावना, कहाँ कस्तो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबार (असोज ११) देशभरको मौसममा बदली रहने जनाएको छ। महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका अधिकांश भूभागमा बादल लाग्ने सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान तथा वाग्मती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, कोसी र मधेस प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा समेत मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीसमेत चल्नसक्ने महाशाखाले जनाएको छ।

महाशाखाले वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।