काठमाडौं । देशभर मनसुनी वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक बदली रहनेछ । हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
सोमबार राति हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
मंगलबार दिउँसो पनि देशभर आंशिक बदली रहनेछ । हिमाली भूभागका एक–दुई तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । मंगलबार राति हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ ।
बुधबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यस्तै, पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोसी प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार राति कोसी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।