काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार (असोज १२) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से १६.४७ अंक अर्थात् ०.६२ प्रतिशतले घटेर २६१३.३३ विन्दुमा बन्द भएको छ ।
सोमबार ३५७ कम्पनीका एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर किनबेच भएका छन् । दिनभर कुल पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कुल ५८ हजार ५०० पटकको कारोबारमार्फत उक्त सेयर किनबेच भएको हो ।
यस दिन ५० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
सोमबार सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीहरूको सूचीमा ऋणपत्र तथा अन्य वित्तीय साधनसमेत परेका छन् । सात प्रतिशतको लक्ष्मी सनराइज डिबेन्चर २०९२, १० प्रतिशतको केबीएल डिबेन्चर २०९०, ६.२५ प्रतिशतको प्राइम बैंक डिबेन्चर २०९३, माण्डु हाइड्रोपावर र एनआईसी ब्यालेन्स फन्डको मूल्य बढेको छ ।
त्यस्तै, सबैभन्दा बढी मूल्य घट्ने कम्पनीहरूमा हाथवे इन्भेस्टमेन्ट, इमर्जिङ नेपाल, ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१, धौलागिरी लघुवित्त र एसियन हाइड्रोपावर रहेका छन् ।
यस दिन ट्रेडिङ उपसमूहबाहेक नेप्सेका सबै उपसमूहको परिसूचक घटेको छ ।