एआईआईबीको उपाध्यक्षमा नेपाल चयन

३ हप्ता अगाडि
एआईआईबीको उपाध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका क्रममा नेपाललाई आगामी वर्षका लागि गैर-क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो।

एआईआईबीको संगठनात्मक संरचनाअनुसार बैंकमा एक अध्यक्ष तथा क्षेत्रीय र गैर-क्षेत्रीय सदस्य मुलुकबाट एक–एक जना उपाध्यक्ष रहने व्यवस्था छ। यसपटक गैर-क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षमा चयन भएको छ।

वार्षिक बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले पूर्वाधारमार्फत हुने पुँजी निर्माण कम विकसित मुलुकहरूको आर्थिक वृद्धिको प्रमुख आधार रहेको बताए।

उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। नेपालजस्ता विकासशील मुलुकको आवश्यकता र क्षमतासँग मेल खाने गरी एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्नेमा पनि उनले जोड दिए।

अर्थमन्त्री वाग्लेले स्वदेशी तथा विदेशी निजी पुँजीलाई आकर्षित गर्ने वातावरण निर्माणका लागि वित्तीय स्रोतको प्रभावकारी परिचालन आवश्यक रहेको बताए।

नेपालको एआईआईबी उपाध्यक्षमा चयनले पूर्वाधार विकास, लगानी विस्तार तथा विकासशील मुलुकका प्राथमिकताका विषयमा बैंकको नीतिगत छलफलमा नेपालको भूमिका बढ्ने अपेक्षा गरिएको छ।