काठमाडौं । एक दशकभन्दा लामो समयपछि अमेरिकी सेना मंगलबार इराकमा रहेका आफ्ना बाँकी सैन्य अखडाबाट बाहिरिएको छ ।
अमेरिका र गठबन्धन साझेदारले सेप्टेम्बर २०२४ को सम्झौताअनुसार इराकमा सञ्चालन गर्दै आएको ‘अपरेसन इनहेरेन्ट रिसोल्भ’ औपचारिक रूपमा समाप्त भएको पेन्टागनले जनाएको छ । यद्यपि, इराकी सुरक्षा बललाई तालिम र गुप्तचर सहयोग भने जारी रहनेछ ।
अमेरिका नेतृत्वको गठबन्धनले सन् २०१४ मा इराक र सिरियामा फैलिएको इस्लामिक स्टेट (आईएस) विरुद्ध सैन्य अभियान सुरु गरेको थियो । इराकमा सन् २०१७ मा आईएस पराजित भएको घोषणा भए पनि बाँकी संरचनाविरुद्ध कारबाहीका लागि अमेरिकी सेना रहँदै आएको थियो ।
अमेरिकी सेना फिर्तासँगै इराकको सुरक्षा अवस्था र आईएसको सम्भावित पुनःसंगठनबारे भने चिन्ता व्यक्त गरिएको छ ।