सल्यानका सात पालिकामा स्क्रब टाइफस, ४७२ जनामा संक्रमण

३ हप्ता अगाडि
सल्यानका सात पालिकामा स्क्रब टाइफस, ४७२ जनामा संक्रमण

सुर्खेत । सल्यानमा स्क्रब टाइफसको संक्रमण सात स्थानीय तहमा फैलिएको छ । स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा २ हजार ४ सयभन्दा बढीको परीक्षण गर्दा ४७२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण फैलिन थालेपछि रोग नियन्त्रण महाशाखा, टेकुबाट विज्ञ टोली सल्यान आउने भएको प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीले बताइन् । टोलीले संक्रमणको अवस्था, जोखिम क्षेत्र र रोग फैलिनुको कारणबारे अध्ययन गर्नेछ ।

संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्रै आठ जनाको मृत्यु भएको छ । दार्मा, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डेमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्यकर्मीले घाँसपात, दाउरा तथा कृषि काम गर्दा किर्नोको टोकाइबाट जोगिन शरीर ढाक्ने कपडा, पञ्जा र जुत्ता प्रयोग गर्न तथा घरवरिपरिका झाडी सफा राख्न आग्रह गरेका छन् । रोग पहिचान गरी समयमै औषधि सेवन गरे अधिकांश बिरामी निको हुने स्वास्थ्यकर्मीको भनाइ छ ।