काठमाडौं । देशभर मनसुनी तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ।
हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार बिहीबार (असोज १५) दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना छ।
दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, बिहीबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ।
रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले आगामी दिनमा मौसममा हुन सक्ने परिवर्तनलाई ध्यान दिई आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ।